Join our Channel

तातोपानी नाकासँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा

तातोपानी नाकासँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ। भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु लगायत पाँच स्थानमा पहिरो पन्छाएर सडक सुचारु गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ।

अनुगमनका क्रममा पहिरोले सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरण, सडकलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने उपाय र प्राविधिक स्थायित्वका विषयमा पनि विचारविमर्श भएको छ।

चाडपर्व नजिकिँदै गर्दा नाका अवरुद्ध हुँदा चीनबाट सामान ल्याउने कन्टेनरहरू रोकिनु परेको थियो। तर मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्ष र स्थानीय अगुवासँग छलफल गरी बाटो खोल्न सहजीकरण गर्न आग्रह गरेका थिए।

सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौं कन्टेनरहरूले दशैंका लागि आवश्यक सामग्री ल्याउन थालेका छन्।

Leave a comment