
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहणसँगै चारवटा सल्लाहकार समिति गठन गरेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै केशरमहलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गर्दै यो निर्णयमा हस्ताक्षर गरेका हुन्।
मन्त्री पुनले गठन गरेका सल्लाहकार समिति अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी हुनेछन्। उनले यस समितिलाई केवल औपचारिकतामा सीमित नराखी प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार शिक्षा ऐनमा आवश्यक संशोधन र सुधारबारे विज्ञहरूसँग परामर्श गरिनेछ। साथै, विभिन्न क्षेत्रमा देखिएको कुशासन र भ्रष्टाचार अन्त्य गर्न पहल गर्ने उनको भनाइ छ।
मन्त्री पुनले मन्त्री क्वाटरमा बस्ने परम्परा तोड्दै मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। उनले मन्त्री भएपछि आफूले विगतमा सञ्चालन गरेको आविष्कार केन्द्रबाट राजीनामा दिएको समेत बताए।
“६ महिनाभित्र ठूलो काम नसकिए पनि जनताले अनुभूत गर्ने प्रभावकारी काम पक्कै गर्छु,” मन्त्री पुनले भने।