Join our Channel

कोशीमा बाढी–पहिरो : ५५५ जनाको सकुशल उद्धार

कोशीमा बाढी–पहिरो : ५५५ जनाको सकुशल उद्धार

लगातारको वर्षापछि आएको बाढी र पहिरोबाट कोशी प्रदेशका विभिन्न स्थानमा फसेका ५५५ जनालाई सकुशल उद्धार गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरूको संयुक्त प्रयासमा उद्धार कार्य सम्पन्न भएको हो।

  • जसमध्ये २३ जनालाई अति जोखिमपूर्ण स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ।
  • बाँकी ५३२ जनालाई स्थलमार्गबाट सुरक्षाकर्मीहरूले सुरक्षित स्थानमा पुर्‍याएका छन्।

विशेष गरी, झापा गाउँपालिकाबाट १६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
इलामको माङसेबुङ–१ मा घाइते तीनजनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) पठाइएको छ। इलामकै सन्दकपुर–४ माबुमा चार जना घाइतेलाई झापाको बी एण्ड सी अस्पतालमा पठाइएको छ।

हालसम्म बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसमध्ये इलाममा ३७ जनाले ज्यान गुमाएका छन्। बाँकी मृत्यु पाँचथर, मोरङ, सुनसरी, उदयपुर र खोटाङका नागरिक हुन्।

प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा अहिलेसम्म खटिएका छन्। मौसममा सुधारसँगै उद्धार कार्य थप सहज भएको प्रदेश प्रहरी प्रवक्ता पोखरेलले बताएका छन्।

प्रारम्भिक विवरणअनुसार, बाढी र पहिरोले इलाम, पाँचथर, उदयपुर, खोटाङ लगायतका पहाडी जिल्ला तथा मोरङ र सुनसरीमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई अझै सतर्क रहन अनुरोध गरेको छ।

Leave a comment