
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षलाई ‘कोशी पर्यटन वर्ष’को रूपमा मनाउने घोषणा गरेसँगै यस अभियानलाई प्रवर्द्धन गर्न प्रचारप्रसार तीव्र बनाएको छ। सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरी १० करोड रुपैयाँ बजेट विनियोजन गर्दै यो वर्षलाई पर्यटकमैत्री बनाउने योजना अघि सारेको हो।
पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन गरिएको छ। समितिले प्रचारप्रसारका लागि दुई समूह बनाई स्वदेशी तथा विदेशी सञ्चारकर्मीलाई समेटेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
समितिका सदस्य वासुदेव बरालका अनुसार ‘स्वदेशी तथा विदेशी सञ्चारकर्मीलाई गन्तव्य भ्रमण’ र ‘रोड शो’ कार्यक्रम अन्तर्गत भारत र नेपालका पत्रकारको सहभागिता भइरहेको छ।
भारतको सिक्किम, बिहार, पश्चिम बङ्गालसहित नेपालका पत्रकार टोलीले रामधुनी मन्दिर, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष, धरान, धनकुटाको ओरेञ्ज सिटी, तेह्रथुमको चोत्लुङ पार्क लगायत स्थानहरूको भ्रमण गरेका छन्।
बरालले बताएअनुसार ओरेञ्ज सिटी दुई वटा टोलको संयोजनमा निर्माण गरिएको हो, जहाँ प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ। यहाँको पर्यटन प्रवर्द्धनका लागि सुन्तला किसानलाई प्रोत्साहन दिइएको छ।
आजको दिनमा पत्रकार टोली भोजपुरको मुन्दुम ट्रेल र हलेसी मन्दिर जस्ता पर्यटकीय गन्तव्यको अवलोकनमा छन्।
यस्तै, असार ११ देखि काठमाडौँ, ललितपुर, पोखरा, नारायणगढ र हेटौँडामा विभिन्न ‘रोड शो’ कार्यक्रम सम्पन्न भइसकेका छन्।
बरालका अनुसार चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेटमध्ये ४ करोड ४७ लाख रुपैयाँ मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण र गन्तव्य पहिचानमा खर्च गर्दैछ भने बाँकी रकम निजी क्षेत्रमार्फत खर्च गरिनेछ।