Join our Channel

केपी शर्मा ओली : “जेनजीका माग ठिक छन्, तर ध्वस्त पार्ने काम अरूले गरे”

ओली : "जेनजीका माग ठिक छन्, तर ध्वस्त पार्ने काम अरूले गरे"

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताद्वारा उठाइएका मागलाई जायज ठहर गरेका छन्। उनले भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागमा कसैलाई असहमति नभएको बताए।

तर ओलीले जेनजी पुस्ता देशभक्त र विवेकशील भएकाले सार्वजनिक सम्पत्ति जलाउने, सिंहदरबारमा आगजनी गर्ने वा राजनीतिक नेतामाथि अमानवीय व्यवहार गर्ने कार्य उनीहरूले नगरेको दाबी गरे।
उनले भने, “जेनजी पुस्तालाई देशको माया छ, उनीहरू विवेकशील छन्। तर देशको झण्डा ओढेर आगजनी गर्ने काम अरूले गरेका हुन्।”

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको विषय

ओलीले भूपरिवेष्ठित मुलुकलाई भू–जडित बनाउने, राष्ट्रिय स्वाभिमानको झण्डा उठाउँदा आफूले अपमान भोग्नुपरेको उल्लेख गरे। उनले रविन्द्रनाथ टैगोरको ‘एक्ला चलो रे’ कविताको सन्देश उद्धृत गर्दै सत्यतामा दृढ भएर उभिनुपर्नेमा जोड दिए।

दलभित्रै समाधान खोज्नुपर्ने आग्रह

एमाले अध्यक्ष ओलीले दलहरूले मुलुकप्रति जिम्मेवार रहनुपर्ने बताउँदै विवाद र समस्याको समाधान पार्टी संरचनाभित्रै खोजिनुपर्ने धारणा राखे।
उनले चेतावनी दिँदै भने, “जेनजीको आन्दोलनलाई प्रयोग गरेर दलविहीन र गन्तव्यविहीन बाटोतर्फ मुलुक धकेल्ने प्रयास भइरहेको छ। प्रतिस्पर्धात्मक लोकतन्त्र र मतदान प्रणालीलाई कमजोर पार्ने प्रवृत्तिलाई सबै लोकतान्त्रिक शक्तिले खबरदारी गर्नुपर्छ।”

समाजमा आतंक सिर्जना भएको आरोप

ओलीका अनुसार प्रतिशोध र असहिष्णुताका कारण सामाजिक सद्भाव भड्काइएको छ। सार्वजनिक सम्पत्ति जलाउने, घर जलाइदिने वा कुटपिट गर्ने धम्की दिँदै समाजमा आतंक फैलाउने कार्य अस्वीकार्य रहेको उनको भनाइ छ। उनले तत्काल कानुनी कारबाही गरेर यस्ता गतिविधि रोक्न सरकारलाई आग्रह गरे।

“क्षतिले देशलाई चौथाई शताब्दी पछाडि धकेल्यो”

अध्यक्ष ओलीले हालैका घटनाले नेपाललाई ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै समाज र विकासलाई “चौथाई शताब्दी पछाडि धकेलेको” बताए। उनले अब खरानीबाट उठेर सुधारको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए।

पत्रकारलाई स्वतन्त्र र निर्भीक बन्न आग्रह

प्रेस तथा वाक स्वतन्त्रता लडेर हासिल गरिएको अधिकार भएको स्मरण गराउँदै ओलीले पत्रकारलाई सत्य समाचार र विचार निर्भीकताका साथ प्रकाशन गर्न आग्रह गरे।
उनले भने, “सत्य समाचार लेख्दा कसैको धम्कीबाट डराउन आवश्यक छैन। पत्रकारहरूले निर्भीक भएर आफ्नो दायित्व पूरा गर्नुपर्छ।”

Leave a comment