
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग ३-० गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। श्रीलङ्काको कोलम्बोस्थित रेडकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो।
पहिलो हाफ बराबरी, दोस्रो हाफमा भारतको तीन गोल
खेलको पहिलो हाफमा दुवै टोलीले अवसर बनाए पनि गोल हुन सकेन। नेपालका कप्तान प्रशान्त मोक्तानले ३३औँ मिनेटमा फ्री किक मार्फत अग्रता दिलाउने अवसर पाए तर बल क्रसबारभन्दा माथि गयो।
३८औँ मिनेटमा प्रतिस थापा मगरको प्रहारलाई भारतीय गोलकिपरले रोकिदिए।
दोस्रो हाफ सुरु भएलगत्तै भारतले आक्रमक खेल प्रस्तुत गर्यो। खेलको ६१औँ मिनेटमा गन्लिबा वाङ्खेरिक्पामले गोल गर्दै भारतलाई १-० को अग्रतामा पुर्याए। ८०औँ मिनेटमा अज्लान शाहले अर्को गोल थपे। खेलको अन्तिम मिनेटमा डाइमन्ड सिंह थोक्चोमले तेस्रो गोल गर्दै भारतलाई ३-० को विजय दिलाए।
समूह चरणमा नेपालको यात्रा
नेपालले समूह चरणको पहिलो खेलमा श्रीलङ्कालाई २-० ले पराजित गरेको थियो। तर दोस्रो खेलमा बंगलादेशसँग ४-० ले पराजित भएपछि समूह ए उपविजेता बनेको थियो। सोही कारण नेपालले समूह बी विजेता भारतसँग सेमिफाइनल खेलेको हो।
फाइनलमा भारत र बंगलादेश
सेमिफाइनलको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई २-० ले पराजित गर्दै फाइनल पुगेको थियो। अब फाइनलमा भारत र बंगलादेश आमनेसामने हुनेछन्।