
खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण ११ नेपालीसहित २३ जना प्रवासी श्रमिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा साल्मिया क्षेत्रमा रहेका नेपाली, भारतीयसहित विभिन्न देशका श्रमिकले मिथानोलयुक्त मदिरा सेवन गर्दा ज्यान गुमाएका हुन्।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार झन्डै १ सय ६० जना श्रमिक बिरामी परेका छन्। तीमध्ये ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ५१ जनाले आपतकालीन मृगौला डायलसिस गराइरहेका छन्। केही बिरामी आकस्मिक रूपमा अन्धोपनको शिकार भएको जानकारी पनि सार्वजनिक गरिएको छ।
नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार दूतावासले नेपाली समुदाय र कुवेत सरकारसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय गरिरहेको छ। उनले भने, “शंका लाग्ने अवस्थामा अस्पतालमा उपचार गराउन जाने नेपालीको संख्या बढिरहेको छ।”
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले घटनापछि दूतावासलाई पीडित परिवारसँग समन्वय गर्दै सक्रिय रहन निर्देशन दिइएको जानकारी दिए। कुवेतस्थित पत्रकार महासंघ शाखाका अध्यक्ष एकराज मल्लले अवैध रूपमा हुने मदिरा ओसारपसार र बिक्री वितरणकै कारण यस्ता घटना हुने बताएका छन्।
कुवेतमा करिब १ लाख ६० हजार नेपाली श्रमिक कार्यरत छन्। त्यहाँ मदिरा, लागूऔषध उत्पादन र बिक्री वितरण पूर्ण रूपमा प्रतिबन्धित भए पनि अवैध रूपमा सेवन र कारोबार हुने गरेका कारण नेपाली श्रमिकसमेत जेल पर्ने गरेका छन्।