
स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार भ्यालेन्सियामाथि एकपक्षीय ६–० को शानदार जित हासिल गरेको छ। यस जितपछि बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी केवल २ अंकमा झारेको छ।
चार खेलबाट रियल म्याड्रिडको अधिकतम १२ अंक छ भने बार्सिलोनाले १० अंकसहित दोस्रो स्थानमा मजबुत बनेको छ। यससँगै उपाधिको होड फेरि परम्परागत प्रतिद्वन्द्वी रियल र बार्सिलोनाबीच नै सीमित हुने प्रष्ट भएको छ।
गोल स्कोररहरू:
- फेरमिन लोपेज – २९ र ५६ औं मिनेट
- राफिन्हा – ५३ र ६६ औं मिनेट
- रोबर्ट लेवान्डोस्की – ७६ र ८६ औं मिनेट
बार्सिलोनाले यो खेल आफ्नै योहान क्राएफ प्रशिक्षण मैदानमा खेलेको हो, किनभने क्याम्प नोउ स्टेडियमको पुनर्निर्माण अझै पूरा भएको छैन। प्रशिक्षण मैदानमा केवल ६ हजार दर्शक क्षमता रहेको छ।
खेलपछि प्रशिक्षक हान्सी फ्लिकले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै भने, “हामीलाई चाहिएको प्रदर्शन यस्तै हो – जित र उत्कृष्ट फुटबल।”