
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, टुनिखर्कमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
शनिबार दिउँसो बेंसीशहर–मनाङ सडक खण्ड हुँदै नाइचेतर्फ जाँदै गरेको ग २ ख ५७२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दुर्घटनामा ट्रक चालक चितवन भरतपुर महानगरपालिका–२९ का करिब ४० वर्षीय सुक बहादुर गुरुङ र ट्रकका साहु म्याग्दी महुवाफाँट गाउँपालिका–७ का ३८ वर्षीय भगवान पाइजा घाइते भएका छन्।
प्रहरीका अनुसार दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूलाई स्थानीय र प्रहरी टोलीले उद्धार गरी प्रदेश अस्पताल, लमजुङमा उपचारका लागि पठाइएको छ।
हाल ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। तर, दुर्घटनाका कारण बेंसीशहर–मनाङ सडक खण्डमा यातायात भने प्रभावित नभएको प्रहरीले स्पष्ट पारेको छ।