
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अन्तर्गत सेती नदी तटीय क्षेत्रमा बाढी सूचना दिने साइरन जडान गरिएको छ।
आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नदी किनारमा बसोबास गर्ने बासिन्दालाई बाढी जोखिमको समयमै सूचना दिन साइरन जडान गरेको हो।
नदी सुरक्षा व्यवस्थापन योजना अनुसार सेती नदीको बाँधभन्दा तल्लो क्षेत्रमा रहेका बासिन्दालाई बाढी जोखिम न्यूनीकरण तथा सचेतना बढाउन प्रशिक्षणसहित साइरन जडान गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
उनका अनुसार वर्षायाम सुरु भएकाले अब साइरन बजेको बेलामा नदी किनारबाट टाढा बस्न, नदी आसपास नजान स्थानीयलाई आग्रह गरिएको छ।
त्यस्तै, बाँध सुरक्षा र तल्लो तटीय क्षेत्रको जोखिमबारे नदी सुरक्षा विज्ञबाट स्थानीयलाई प्रशिक्षणसमेत दिइएको छ।
आयोजनाको कुल लागत करिब ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ, जसमा एशियन डेभलपमेन्ट बैंक (ADB), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA), युरोपियन लगानी बैंक र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले संयुक्त लगानी गरेका छन्।
आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोग गरी तल्लो सेती जलविद्युत् आयोजना (१२६ मेगावाट) को विकास पनि अगाडि बढाइएको छ।
तथ्याङ्क अनुसार, पहिलो १० वर्षमा वार्षिक ५८ करोड ७७ लाख युनिट र त्यसपछि ४८ करोड ९९ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।