
लक्ष्मीपूजाको दिन नेपालमा विद्युत् माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, आइतबार साँझ ६:५० बजे यो उच्च माग रेकर्ड गरिएको हो।
गत वर्षको १६ कात्तिकको लक्ष्मीपूजाको दिन पिक डिमाण्ड एक हजार ६०२ मेगावाट थियो। यस वर्षको माग गत वर्षभन्दा ४८ मेगावाट बढी रहेको प्राधिकरणले जनाएको छ।
तिहारको दिन उद्योग र कलकारखानाहरु बन्द हुने भएकाले पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको भएको प्राधिकरणको भनाइ छ। सो दिनको मागलाई देशभित्रैका विद्युत गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो।
बढी उत्पादन भएको १ हजार १५ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ। गत वर्ष लक्ष्मीपूजामा प्रणालीमा समग्र विद्युत् माग २ हजार ६६५ मेगावाट रेकर्ड गरिएको थियो भने प्रणालीको पिक डिमाण्ड एक हजार ८५५ मेगावाट थियो।
यस वर्ष काठमाडौँ उपत्यकाको पिक डिमाण्ड १ हजार ६५० मेगावाट रेकर्ड भएको छ। गत वर्ष काठमाडौँको पिक डिमाण्ड ३९० मेगावाट थियो। सो पिक समयमा २५३ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो।
नेपालमा विद्युत् माग र उत्पादन दुवैमा वृद्धि भएको यो तथ्यले ऊर्जा सुरक्षामा सुधार र निर्यात क्षमताको संकेत दिएको विश्लेषकहरुले बताएका छन्।