
प्रहरीको साइबर ब्यूरोले अधिवक्ता तथा राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ।
उनमाथि प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोप लगाइएको छ।
अधिवक्ता नेपालले आफूलाई सोमबार साइबर ब्यूरोमा उपस्थित हुन फोन गरेर आमन्त्रण गरिएको बताए। उनले भने, “म आजै आउँ कि भनेको तर तिहारको अवसर भएकाले ‘तिहारपछि आउनुहोस्’ भन्नुभयो। म तिहारपछि जान्छु। काठमाडौं बाहिर नजान आग्रह गरिएको छ।”
स्वागत नेपाल पेशाले अधिवक्ता हुन्। उनी राजावादी आन्दोलनका प्रवक्ता पनि हुन्। १५ चैतमा पनि आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
केही दिनअघि नेपालले संविधानले प्रधानमन्त्री कार्कीलाई बन्न नदिने प्रावधान भएको विषयमा टिप्पणी गर्दै आफूले प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना गरेका थिए। यसै कारण साइबर ब्यूरोले उनलाई सोधपुछका लागि बोलाएको बुझिएको छ।