
लुम्बिनी प्रदेशका चारवटा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। सबैभन्दा धेरै बजेट बुटवल उपमहानगरपालिकाले ल्याएको छ।
बुटवल उपमहानगरले ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो। उपप्रमुख सावित्रा अर्यालका अनुसार उक्त बजेटमा ४९% चालु खर्च र ५१% पुँजीगत खर्च राखिएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ। आन्तरिक आम्दानी ९५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।
नाराका रूपमा “पढाईसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं” प्रस्तुत गरिएको छ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका, दाङ का उपप्रमुख श्यानी चौधरीले २ अर्ब ७ करोड रुपैयाँ बजेट प्रस्तुत गरिन्। उनले सबै वडाको योजना नआएको भन्दै चालु र पुँजीगत विवरण नखुलाइएको बताइन्। तथापि, कर्मचारीका अनुसार चालु खर्चमा १ अर्ब ३४ करोड र पुँजीगतमा ६७ करोड ९९ लाख छुट्याइएको छ। वित्तीय खर्चका लागि २ करोड २६ लाख विनियोजन गरिएको छ।
उपप्रमुख चौधरीले आफ्नै संस्था ‘दिदी घर’का लागि ५० लाख रुपैयाँ छुट्याएकी छिन्, जसले असहाय बालबालिकाको संरक्षण गर्दै आएको छ।
घोराही उपमहानगरपालिका, दाङले भने २ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका, बाँकेले १ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको हो। चालु खर्चमा १ अर्ब ९ करोड र पुँजीगत खर्चमा ५९ करोड ७७ लाख विनियोजन गरिएको छ। उपप्रमुख कमरुद्धिन राईले ४० करोड वित्तीय व्यवस्थासहित २२ करोड १२ लाख आन्तरिक स्रोतको अनुमान गरिएको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य, औद्योगीकरण र पूर्वाधारलाई प्राथमिकता दिइएको बताए।
प्रदेशभर बजेटको अवस्था
लुम्बिनी प्रदेशमा हाल ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन्। मंगलबार बेलुकीसम्म सबै उपमहानगरपालिकाले बजेट सार्वजनिक गरिसकेका छन्।
त्यस्तै, ३२ नगरपालिका मध्ये १९ ले बजेट सार्वजनिक गरेका छन् भने ७३ गाउँपालिकामध्ये ५१ ले बजेट सार्वजनिक गरिसकेका छन्।