
गुल्मी जिल्लाका सबै १२ वटा स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लामा रहेका दुई नगरपालिका र १० गाउँपालिकाले आ–आफ्ना नीति तथा कार्यक्रमअनुसार बजेट सार्वजनिक गरेका हुन्।
सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिकाले नगर प्रमुख खिलध्वज पन्थीमार्फत ६७ करोड २१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो।
त्यसैगरी, इस्मा गाउँपालिकाले सोमबार नै उपाध्यक्ष पार्वती कुँवरमार्फत ४९ करोड ५२ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
सबैभन्दा ठूलो बजेट मुसिकोट नगरपालिकाले ल्याएको छ। नगरपालिकाले ७० करोड १४ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ।
त्यस्तै, गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट सार्वजनिक गर्ने मालिका गाउँपालिका हो, जसले ६१ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।
अन्य पालिकाहरूको बजेट विवरण यसप्रकार छ:
- धुर्कोट गाउँपालिका – ६० करोड ५१ लाख ४ हजार
- मदाने गाउँपालिका – ५४ करोड ९४ लाख
- गुल्मीदरबार गाउँपालिका – ५६ करोड ३८ लाख ४० हजार
- छत्रकोट गाउँपालिका – ५८ करोड ८५ लाख १६ हजार
- रुरुक्षेत्र गाउँपालिका – ५५ करोड ६६ लाख १९ हजार
- कालीगण्डकी गाउँपालिका – ५७ करोड २ लाख ६३ हजार
- सत्यवती गाउँपालिका – ५७ करोड ६५ लाख ८५ हजार
- चन्द्रकोट गाउँपालिका – ५६ करोड २६ लाख ७२ हजार
यी पालिकाहरूका उपप्रमुख तथा उपाध्यक्षहरूले बजेट सार्वजनिक गरेका हुन्।
पालिकाहरूले यस वर्ष पुराना जनमुखी नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, कृषि, पूर्वाधार, स्वास्थ्य लगायतका प्राथमिक क्षेत्रमा बजेट छुट्याएका छन्।
चार जीपीए ल्याउने विद्यार्थीलाई १ लाखदेखि १ लाख ५१ हजार रुपैयाँसम्मको पुरस्कार, कृषकलाई उत्प्रेरणा र उत्पादनको बजारीकरण लगायतका कार्यक्रम समेटिएका छन्।
गत कार्यकालमा महत्वाकांक्षी योजना ल्याएर कार्यान्वयनमा कमजोर भएका पालिकाहरूले यसपटक यथार्थमा आधारित कार्यक्रम ल्याएको देखिन्छ।