
तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम गरेर मनाइँदैछ। नेकपा एमाले पार्टी र विभिन्न सहायक संस्थाहरूले भण्डारीको योगदानको स्मरणमा कार्यक्रम आयोजना गरेका छन्।
यसै अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ।
एमाले पार्टीले देशभरका विभिन्न जिल्लामा पनि विविध कार्यक्रममार्फत मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्ने जनाएको छ।
भण्डारीको जीवन र योगदान
वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको कोखबाट मदन भण्डारी जन्मिएका थिए। उनी तीन दाजुभाइमध्ये माइला थिए।
राजनीतिक सिद्धान्तका क्षेत्रमा विशेष योगदान पुर्याएका भण्डारीले नेपालको सन्दर्भमा “जनताको बहुदलीय जनवाद” (जबज) सिद्धान्तको प्रवर्तन गरे। उनले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत सामाजिक परिवर्तन र जनक्रान्तिको बाटो देखाए, जसले उनलाई “जननेता” को उपाधि दिलाएको हो।
वि.सं. २०५० साल जेठ ३ गते पोखराबाट चितवन जाँदै गर्दा दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज अश्रितको असामयिक निधन भएको थियो। निधनको बेला उनी ४१ वर्षका मात्र थिए।
आज उनका नाममा विभिन्न प्रतिष्ठान, कलेज, केन्द्र र फाउण्डेसनहरू संचालनमा छन्।