Join our Channel

अमेरिका–चीन व्यापार सम्झौता : दुर्लभ खनिज तत्वमा सहमति, भिसा प्रतिबन्ध फिर्ता

अमेरिका–चीन व्यापार सम्झौता : दुर्लभ खनिज तत्वमा सहमति, भिसा प्रतिबन्ध फिर्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापारसम्बन्धी एक महत्वपूर्ण सम्झौता सम्पन्न भएको बताएका छन्। लन्डनमा हालै सम्पन्न उच्चस्तरीय वार्तापछि दुर्लभ खनिज तत्व (रेयर अर्थ मेटल्स) आपूर्तिसम्बन्धी सम्झौता भएको ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत जानकारी दिएका हुन्।

राष्ट्रपति ट्रम्पका अनुसार, चीनले अमेरिकी प्रविधि कम्पनीहरूलाई दुर्लभ खनिज आपूर्ति गर्न सहमति जनाएको छ। यसको बदलामा अमेरिका सरकारले चिनियाँ विद्यार्थीहरूका लागि भिसा खारेज गर्ने धम्की फिर्ता लिएको छ।

अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीसँगको अन्तर्वार्तामा यो साता सम्झौतामा हस्ताक्षर र छाप लगाइसकेको जानकारी दिएका छन्। ‘हामीले भर्खरै चीनसँग सम्झौता गरेका छौं,’ ट्रम्पले भने।

यो सम्झौता ‘मे’ महिनामा जेनेभामा भएको प्रारम्भिक वार्ताको निरन्तरता मानिएको छ। त्यसले दुई देशलाई भन्सार शुल्क बढाउने निर्णय स्थगन गर्न प्रेरित गरेको थियो। लन्डनमा पछिल्लो वार्ताले दुवै देशबीच व्यापारको खाका तयार गरेको र औपचारिक रूप दिएको बताइएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले पनि दुर्लभ खनिज तत्वहरूको निर्यात अनुमतिमा तीव्रता ल्याउने बताएको छ। चीनले अप्रिलमा सातवटा दुर्लभ खनिजमा नयाँ निर्यात इजाजत अनिवार्य बनाएको थियो। यसले कार, हावा टर्बाइन, रोबोटलगायत प्रविधिमा आधारित अमेरिकी उत्पादनहरूमा प्रभाव पार्न सक्ने बताइएको छ।

वाणिज्यमन्त्री लुटनिकले भने, ‘राष्ट्रपतिलाई आफैं सम्झौता पूरा गर्न मन पर्छ, उहाँ सम्झौता निर्माता हुनुहुन्छ। हामी अब एकपछि अर्को सम्झौता गर्नेछौं।’

Leave a comment