
रौतहट — पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू निर्दोष रहेको दाबी गरेका छन्।
शुक्रबार रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने,
“पतञ्जलिजस्तो ठूलो संस्थामा यस्तो हुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ। मैले कुनै पनि अनुचित काम गरेको छैन, न त त्यस्तो कामलाई प्रोत्साहन नै दिएको छु।”
नेपालले आफूलाई विषयको विस्तृत जानकारी नभएको बताउँदै कानुनी परामर्श आवश्यक रहेको बताएका छन्।
“अहिलेसम्म के भएको छ, मलाई थाहा छैन। कानुन व्यवसायीसँग सल्लाह गर्नुपर्छ,” उनले भने।
भ्रष्टाचार मुद्दामा नाम
पतञ्जलि योगपीठको नाममा भएको जग्गा हिनामिनासम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यस मुद्दामा १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।