
काठमाडौं — विराट कोहलीले अन्ततः १८ वर्षपछि आफ्नो इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन बन्ने सपना पुरा गरेका छन्। उनको टिम रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले यसपटक पञ्जाब किंग्सलाई ६ रनले हराउँदै पहिलो पटक आईपीएलको उपाधि जितेको हो।
१८ वर्षपछि कोहली च्याम्पियन बने
विराट कोहलीको क्रिकेट करियरमा दुईपटकको विश्वकप उपाधि भए पनि आईपीएल उपाधि भने अभावमा थियो। यसपटक भने त्यो अभाव पनि टुंगिएको छ। उनी खेलपछि भावुक बने—रोए, हाँसे र पहिलो पटक आईपीएल ट्रफी उचाले। संयोगवश, यो कोहलीको १८औं आईपीएल थियो र उनको जर्सी नम्बर पनि १८ नै हो। उपाधि जित्ने खेलमा कोहलीले ४३ रन बनाए।
श्रेयस ऐरको कप्तानी प्रदर्शन
पञ्जाब किंग्सलाई फाइनलसम्म पुर्याउनेमा कप्तान श्रेयस ऐरको मुख्य भूमिका रह्यो। प्रशिक्षक रिकी पोन्टिङले विश्वास गरेका श्रेयसले सिजनभर ६०४ रन बनाए। मुम्बईविरुद्धको इलिमिनेटरमा उनले अविजित ८७ रन बनाएर सबैको ध्यान ताने।
१४ वर्षे वैभव सूर्यवंशीको सनसनी
राजस्थान रोयल्सबाट डेब्यु गरेका १४ वर्षे वैभव सूर्यवंशी यस वर्ष सबैभन्दा चर्चित युवा खेलाडी बने। उनले लखनउविरुद्ध पहिलो बलमै छक्का प्रहार गरे। पछि गुजरात टाइटन्सविरुद्ध ३५ बलमै ११ छक्का र ७ चौकासहित शतक बनाए। चेन्नई सुपर किंग्सविरुद्ध पनि उनले ५७ रनको योगदान दिए।
पन्तको निराशाजनक प्रदर्शन
लखनउ सुपर जायन्ट्सले महंगो मूल्यमा ल्याएका भारतीय स्टार ऋषभ पन्तले अपेक्षित प्रदर्शन गर्न सकेनन्। उनी आक्रामक ब्याटिङमा चुक्दा टिम प्लेअफ प्रवेश गर्न नसकी लिग चरणमै बाहिरियो। यद्यपि, अन्तिम खेलमा उनले आरसीबीविरुद्ध शतक बनाए।
तनावबीच रोकिएको आईपीएल
भारत–पाकिस्तान तनावको असर आईपीएलमा पनि देखियो। मे ९ मा धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेलको क्रममा जम्मूमा बम विस्फोटको आवाज आएपछि खेल रोकिएको थियो। खेलाडी र अधिकारीहरूलाई विशेष ट्रेनबाट दिल्ली लगिएको थियो। प्रतियोगिता मे १७ बाट पुन: सुरु भयो।