
बेनी नगरपालिका–९, तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ। पर्यटन प्रवर्द्धन, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सिर्जना र पर्यटकको सुविधा सुनिश्चित गर्न सुरु भएको यो परियोजना पहिलो चरणमा पाँच घरमा २१ जना क्षमताको होमस्टे सञ्चालनमा आएको छ।
समूहकी अध्यक्ष सीता खत्रीका अनुसार, “पाहुना राख्नका लागि कोठा, शौचालय र अन्य पूर्वाधारहरू तयार गरिएको छ। इको हिमालय संस्थाले बेड, विस्तारा र सरसफाइका लागि आवश्यक पर्ने करिब रु ६ लाख बराबरका सामग्री सहयोग गरेको छ।”
हाल जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठका घरमा होमस्टे सञ्चालन भएको छ। संस्था दर्ता भइसकेको छ भने दोस्रो चरणमा थप घरमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ।
समुद्री सतहदेखि १,७५० मिटर उचाइमा अवस्थित तोरीपानीबाट धवलागिरि र अन्नपूर्ण हिमालको मनमोहक दृश्य देखिन्छ। तोरीपानी मसलेदार फल र टिमुरखेतीका लागि प्रसिद्ध छ। पर्यटकीय स्थल टोड्के, ऐतिहासिक स्थल ढोलथान दरबार र धार्मिक स्थल पछै पनि यहाँ रहेका छन्।
बेनीदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकारले कालोपत्रसहित स्तरोन्नतिका क्रममा छ। तोरीपानी हुँदै बाइसेचौबीसे राज्यको पालामा दरबार रहेको ढोलथान जोड्ने सडकको स्तरोन्नति पनि संघीय सरकार र नगरपालिकाले योजना बनाएका छन्।
बेनीमा पारिवारिक वातावरणमा रमाउन चाहने पाहुनाका लागि तोरीपानी उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ। पैदल यात्रा र सडकमार्गबाट बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के पुग्न सकिन्छ।
वडाध्यक्ष चक्र केसीले भने, “घरबास मार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।”