
वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य बनेको मलेसियाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १३ जना नेपालीलाई एकैपटक निष्कासन गरेको छ।
मलेसियन अध्यागमन विभागको कडा निगरानीपछि उनीहरूलाई विभिन्न उडानमार्फत नेपाल फर्काइएको हो। निष्कासनमा परेका नेपालीहरूलाई हिमालय एयरलाइन्स र मालिन्दो एयरलाइन्समार्फत यसै साता काठमाडौँ फर्काइएको बताइएको छ।
निष्कासनमा पर्ने नेपालीहरूको नाम यस्ता छन्:
- ओमबहादुर खन
- नारायणबहादुर खत्री
- सञ्जिव गिरी
- अजयकुमार यादव
- नवराज तिमल्सिना
- वीरबहादुर शाही
- रमेशकुमार सिंह
- धर्मराज राई
- शान्तबहादुर तामाङ
- भीमबहादुर कुमाल
- पूर्णबहादुर पुन
- प्रेमकुमार मगर
- छमबहादुर विश्वकर्मा
मलेसियामा लाखौं नेपालीहरू वैदेशिक रोजगारीमा कार्यरत छन्। यस्तैमध्ये केही नेपाली उचित प्रक्रिया पुर्याएर वैधानिक रूपमा पुगेका छन् भने केही दलालहरूको झुटा आश्वासनमा परेर गैरकानुनी रूपमा त्यहाँ पुगेका छन्।
त्यहाँ कार्यरत नेपालीहरूमध्ये केहीले कामको असन्तुष्टि वा अन्य कारणले कम्पनी छाडेर गैरकानुनी रूपमा बसोबास गर्ने गरेको जनाइएको छ। अध्यागमन विभागको निगरानीमा यिनै व्यक्तिहरू विशेष निशानामा पर्ने गरेका छन्।
यसअघि पनि मलेसियाले पटक–पटक गैरकानुनी रूपमा बस्दै आएका नेपालीहरूलाई देश निकाला गर्दै आएको थियो। गत चैतमा मात्र मलेसियाबाट २६ जना नेपालीलाई निष्कासन गरिएको थियो।
विदेशमा सुरक्षित र कानुनी प्रक्रिया पुर्याएर मात्र जान सम्बन्धित निकायहरूले अनुरोध गर्दै आएका छन्।