Join our Channel

मध्यपहाडी सडक १९ दिनका लागि बन्द, वैकल्पिक मार्ग तोकियो

मध्यपहाडी सडक १९ दिनका लागि बन्द, वैकल्पिक मार्ग तोकियो

रुकुमपूर्व जिल्लाको प्रमुख यातायात मार्ग मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अन्तर्गत रानिकोट–किटनी सडकखण्ड १९ दिनका लागि पूर्णरूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सिता परियारको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाँकी निर्माण कार्यलाई तीव्रता दिन कार्तिक १२ गतेदेखि ३० गतेसम्म सो सडकखण्डमा सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको हो।

बैठकमा मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट–किटनी सडकखण्डमा बाँकी काम छिटो सम्पन्न गर्न आवागमन रोक्नुपर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावकै आधारमा बैठकले १९ दिनसम्म सम्पूर्ण सवारी सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

वैकल्पिक मार्गका व्यवस्था

बैठकले ठूला सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत मार्ग प्रयोग गर्न सकिने जनाएको छ।
त्यस्तै साना सवारीसाधनहरूले कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग प्रयोग गर्न सक्ने निर्णय गरिएको छ।

निर्माण तीव्रता र सूचना प्रचार

मध्यपहाडी लोकमार्ग आयोजनाले वैकल्पिक मार्गमा आवश्यक स्थानहरूमा जेसिभी मेसिन परिचालन गरी मर्मत कार्य गर्ने र निर्माण कार्यालयले तोकिएको अवधिभित्र काम पूरा गर्ने जिम्मेवारी लिएको छ।
त्यस्तै, नेपाल पत्रकार महासंघ रुकुमपूर्वले सडक बन्द र वैकल्पिक मार्गबारे सूचना व्यापक रूपमा प्रसारण र प्रकाशन गर्ने जनाएको छ।

स्थानीय प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालयले सडक बन्द अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न अनुरोध गरेको छ।
बैठकमा स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, आयोजना प्रतिनिधि र सञ्चारकर्मीहरू सहभागी थिए।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले तोकिएको अवधिभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको बताएका छन्।

Leave a comment