Join our Channel

एमालेभित्र बढ्दै आवाज: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नवीकरण गरी पार्टीमा फर्काउने माग तीव्र

एमालेभित्र बढ्दै आवाज: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नवीकरण गरी पार्टीमा फर्काउने माग तीव्र

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता नवीकरण गरी पार्टीमा पुनःसक्रिय गराउनुपर्ने माग पार्टीभित्र बलियो बन्दै गएको छ। हालै सम्पन्न तीनदिने एमाले केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले भण्डारीलाई पुनः पार्टीमा फर्काउने प्रस्ताव सशक्त रूपमा उठाएका छन्।

बैठकका सहभागीहरूका अनुसार जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिले पनि भण्डारीको पुनरागमनलाई थप संवेदनशील र सान्दर्भिक बनाएको छ। यसअघि मौन रहेका केही केन्द्रीय सदस्य र पदाधिकारीहरू समेत यसपटक खुलेर बोल्न थालेका छन्।

अध्यक्ष केपी शर्मा ओलीले बैठकको समापन सम्बोधनमा भण्डारीसँग शीघ्र संवाद गर्ने संकेत दिएका छन्। उनले भने,

“कोही पनि यहाँ विद्यादेवी भण्डारीको माइती बनेर आउनु पर्दैन। म उहाँलाई राम्ररी चिन्छु। असजिलो बेला उहाँको उपचारका लागि निर्णय गर्न लगाएको थिएँ। म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ।”

ओलीले भण्डारी आफैं पार्टीमा फर्किन चाहने हो भने आफू सहयोग गर्न तयार रहेको स्पष्ट संकेत गरेका छन्। बैठकमा करिब ५० जना केन्द्रीय सदस्यले भण्डारीको सदस्यता नवीकरणको पक्षमा धारणा राखेका थिए।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले पनि त्यस प्रस्तावमा समर्थन जनाएका छन्। ओलीले बैठकमा पार्टीभित्र अनुशासन कायम गर्न नसकेको स्वीकार गर्दै आत्मालोचना समेत गरेका थिए। उनका अनुसार विचारमा मतभेद स्वाभाविक भए पनि संगठनात्मक शिष्टता भित्रै रहन सके पार्टी सबल बन्ने विश्वास उनले व्यक्त गरे।

प्रतिनिधिसभा पुनःस्थापना माग गर्दै एमालेको निर्णय

बैठकले आगामी निर्वाचन सम्भव नभएकाले विघटित प्रतिनिधिसभा पुनःस्थापना नै लोकतान्त्रिक बाटोमा फर्किने एकमात्र विकल्प भएको निष्कर्ष निकालेको छ।

एमालेले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न ठोस राजनीतिक निर्णय गरेको हो।
उपाध्यक्ष युवराज ज्ञवालीले फरक मत राखे भने अष्टलक्ष्मी शाक्यले समर्थन जनाइन्।

अध्यक्ष ओलीले भने, “हामी आन्दोलनमा जान्छौं। नहुने चुनावमा कसरी भाग लिने?”
बैठकले ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षक प्रस्ताव पारित गर्दै सबै लोकतान्त्रिक शक्तिलाई संवाद र सहकार्यको लागि आह्वान गरेको छ।

त्यस्तै, विगतमा पार्टी निर्माणमा योगदान दिएर विभिन्न कारणले बाहिर रहेका नेताहरूलाई पनि ‘घर फर्किन’ आह्वान गरिएको छ।

जेन–जी आन्दोलन र युवाको मृत्युप्रति एमालेको प्रतिक्रिया

एमालेले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र जनधन क्षतिप्रति दुःख प्रकट गर्दै निहत्था युवाको हत्या ‘असामान्य’ सुरक्षा कमजोरी होइन भन्दै निष्पक्ष छानबिनको माग गरेको छ।

पार्टीले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेको छ।
एमालेले मृतक युवाहरू, सुरक्षाकर्मी र नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

एमालेको ११औं महाधिवेशन पोखरामा

एमालेले आफ्नो ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, तीनदिने केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो।
एमालेको १०औं महाधिवेशन २०७८ मंसिरमा चितवनमा भएको थियो।

Leave a comment