
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्दै नै महत्वपूर्ण निर्णय गरेका छन्। सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका उनले काठमाडौंसहित प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने घोषणा गरेका हुन्।
मन्त्री खरेलले पदभार ग्रहणपछि दिएको पहिलो वक्तव्यमा, सरकार जेनजीहरूको बलिदानीको जगमा बनेको भएकाले युवाहरूको म्यान्डेट पुरा गर्ने दायित्व रहेको बताए। उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न ठोस कदम चालिने प्रतिबद्धता जनाए।
उनले भने, “संरचनाको पुनर्निर्माण सजिलो हुन्छ, तर जनताको मनमा लागेको चोट मेटाउन गाह्रो हुन्छ। त्यसैले सरकारले ६ महिनाभित्र खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्नेछ।”
मन्त्री खरेलले ‘देश पहिला, जनता पहिला’ नीतिमा सरकार अघि बढ्ने स्पष्ट पारे। साथै, कर्मचारीलाई काममा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता पनि जनाए।