
ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
बिहीबार टियु क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले भने, “दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) को मिति नजिकिँदै छ, त्यसैले अब निर्माण कार्यमा तीव्रता ल्याई मैदान छिट्टै हस्तान्तरण गर्नुपर्छ।”
निर्माण कम्पनीका प्रतिनिधिहरूका अनुसार, टियु क्रिकेट मैदानको प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने फ्लडलाइट निर्माण एक महिनाभित्र सम्पन्न हुने योजना छ।
मन्त्री घिसिङले मंसिरमा आयोजना हुने एनपिएल अगाडि पहिलो चरणको काम पूरा हुने जानकारी दिए। उनले टियु क्रिकेट मैदानलाई राष्ट्रिय महत्वको खेल संरचना भएको बताउँदै अब दोस्रो र तेस्रो चरणको काम सुरु गर्न टेन्डर प्रक्रिया अघि बढाउने तयारी भइरहेको उल्लेख गरे।
उनले थपे, “टियु क्रिकेट मैदानको स्तरोन्नतिको काममा बजेटको अभाव हुन दिइने छैन। खेल संरचनाको विकास सरकारको प्राथमिकतामा रहेको छ।”
टियु मैदानमा हाल पिच सुधार, दर्शकदीर्घा मर्मत, फ्लडलाइट र भौतिक संरचना विस्तारको काम तीव्र गतिमा चलिरहेको छ।