
सरकारले प्रहरी संगठनका चार डिपुटी इन्स्पेक्टर जनरल (डिआइजी) लाई अतिरिक्त इन्स्पेक्टर जनरल (एआइजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआइजी सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
यस निर्णयसँगै अब प्रहरी संगठनमा नेतृत्व तहमा नयाँ एआइजीहरू पदस्थापन हुने भएका छन्। बढुवापछि उनीहरूलाई मन्त्रालयको सिफारिसमा विभिन्न जिम्मेवारी तोकिनेछ।
त्यस्तै, बैठकले त्रिभुवन विश्वविद्यालय (ट्रिवि) को जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनलाई कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ।
साथै, नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेस गरेको प्रतिवेदन २०८२ कार्यान्वयनका लागि पर्यटन मन्त्रालयमा पठाउने निर्णय गरिएको प्रवक्ता खरेलले बताए।