Join our Channel

कम्बोडियाबाट पक्राउ परेका मितेरी सहकारी ठगीका आरोपी भण्डारी आज काठमाडौं ल्याइँदै

कम्बोडियाबाट पक्राउ परेका मितेरी सहकारी ठगीका आरोपी भण्डारी आज काठमाडौं ल्याइँदै

ललितपुरको चर्चित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट करोडौं रुपैयाँ अपचलन गरेको आरोप लागेका ज्योतिबहादुर भण्डारीलाई आज कम्बोडियाबाट काठमाडौं ल्याइँदैछ। अध्यागमन विभाग स्रोतका अनुसार उनलाई सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर हुँदै राति ९:४५ बजे काठमाडौं ल्याइने तालिका छ।

भण्डारीसहित अर्की आरोपित, कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङकी पत्नी ज्योति गुरुङ, मितेरी सहकारीमा महाप्रबन्धकको पदमा कार्यरत रहँदा संस्थाको ठूलो रकम अपचलन गरेर फरार भएका थिए। घटना बाहिर आएपछि दुबै जनालाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत रेड नोटिसमा सूचीकृत गरिएको थियो।

प्रहरी अनुसन्धान अनुसार भण्डारी थाइल्याण्ड हुँदै कम्बोडिया र अन्ततः श्रीलंकाको कोलम्बो पुगेका थिए भन्ने अनुमान गरिएको थियो। तर अन्ततः कम्बोडियाबाट पक्राउ परेपछि उनलाई नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको हो।

मितेरी सहकारी बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त नेपाली लाहुरेहरूको पहलमा स्थापना गरिएको संस्था हो। बर्दिया घर भएका ज्योतिबहादुर भण्डारीले सहकारीको करोडौं रुपैयाँ अनियमित तरिकाले अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

भण्डारीलाई नेपाल ल्याउन नेपाल प्रहरीको एक विशेष टोली एसपीको नेतृत्वमा कम्बोडिया गएको थियो। पक्राउ परेका भण्डारीलाई कानुनी प्रक्रिया अघि बढाउने तयारी समेत भइसकेको प्रहरी स्रोतले जनाएको छ।

Leave a comment