
अमेरिकामा सार्वजनिक स्थानहरूमा हिंसात्मक आक्रमण थामिएको छैन। पछिल्लो घटनामा मोन्टाना राज्यको बारमा भएको गोली प्रहारमा ४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
घटना शुक्रबार बिहान साढे १० बजे मोन्टानाको एनाकोन्डा सहरस्थित “द आउल बार” मा भएको हो। गोली चलाउने व्यक्ति ४५ वर्षीय माइकल पाउल ब्राउन रहेको पहिचान भएको छ, जो बारकै छेउमा बसोबास गर्ने व्यक्ति हुन्।
मोन्टाना क्रिमिनल इन्भेष्टिगेसन डिभिजन (Montana Criminal Investigation Division) ले प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलमा ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। गोली प्रहारपछि प्रहरीले तत्काल उक्त क्षेत्रमा नाकाबन्दी गर्दै सन्दिग्धको खोजी सुरु गरेको थियो।
हाल स्वाट टिमले माइकल ब्राउनको घरमा छापा मारी अनुसन्धान गरिरहेको बताइएको छ। प्रहरीका अनुसार घटना भएको बार वरपरको जंगली क्षेत्रमा पनि खोजतलास जारी छ।
यस किसिमका बारम्बार हुने गोलीकाण्डहरू ले अमेरिकी सार्वजनिक सुरक्षामा पुनः प्रश्न उठाएका छन्। अमेरिकामा हरेक वर्ष सार्वजनिक स्थलमा हुने गोलीकाण्डका घटनाले ठूलो जनधनको क्षति पुर्याइरहेको छ।