Join our Channel

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड पहिरोले अवरुद्ध

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड पहिरोले अवरुद्ध

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अविरल वर्षाका कारण पहिरो र लेदोले अवरुद्ध भएको छ। गोलञ्जोर गाउँपालिका–६ अकरेभिर क्षेत्रमा सडकमा लेदो थुप्रिँदा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार, ओखलढुङ्गाबाट काठमाडौंतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको ट्रक लेदोमा फसेको छ। हाल ट्रक निकाल्ने प्रयास भइरहेको छ भने अन्य दुई स्थानमा थप दुई ट्रक होल्ड गरिएको जानकारी प्राप्त भएको छ।

यस्तै, सोही गाउँपालिकाको बलेनीस्थित भागमा सडक माथिबाट पहिरो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको छ। त्यसको असरले खुर्कोट–घुर्मी सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधनहरु खुर्कोटमै रोकिएका छन्।

अवरोधका कारण ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायत पूर्वी जिल्लाबाट राजधानी काठमाडौंतर्फ जाने सवारीहरू रोकिएका छन्। सडक खुलाउने प्रयास जारी रहेको र सुरक्षाकर्मी तथा स्थानीय तहको सहकार्यमा पहिरो हटाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।

गएरातिदेखि निरन्तर वर्षा भइरहेको हुनाले सडक थप जोखिमयुक्त बन्न सक्ने अनुमान गरिएको छ। यात्रु तथा सवारी चालकहरूलाई सतर्क रहन पनि अनुरोध गरिएको छ।

Leave a comment