Join our Channel

मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल आरोहण

मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण

माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमाल (६,२१३ मिटर) पहिलोपटक सफलतापूर्वक आरोहण गरिएको छ। दक्षिण कोरियाका तीन विदेशी पर्यटक र पाँच जना नेपाली गाइडसमेत आठ सदस्यीय टोलीले नोभेम्बर २ तारिखमा ‘छुआमा’ हिमालको शिखरमा सफल आरोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण आयोजना (ACAP) लोमान्थाङ कार्यालयले जनाएको छ।

आरोहण विवरण

‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ नाम्डो गाउँ नजिक अवस्थित छ। ५,४८० मिटर उचाइमा रहेको छुआमा आधार शिविर हुँदै दक्षिण कोरियाली आरोही डोङजिन, नाम्योङ, ह्निचुल र पाँच जना नेपाली गाइडहरूले आरोहण प्रारम्भ गरेका थिए।
टोलीले बिहान २ बजे आधार शिविरबाट प्रस्थान गरी १० घण्टापछि शिखरमा सफलतापूर्वक पुग्न सफल भएको ACAP कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।

पहिलोपटक आरोहण गरिएको शिखर

उपल्लो मुस्ताङमा रहेका तीनवटा ‘छुआमा’ शिखरहरूमध्ये तेस्रो शिखरमा पहिलोपटक सफल आरोहण गरिएको हो। यसअघि ‘छुआमा’ हिमाल आरोहणका लागि अक्टोबर १८ तारिखमा ट्रेकिङ क्याम्प नेपालका प्रतिनिधिहरूले स्थलगत निरीक्षण गरेका थिए।

सम्मान र पर्यटन प्रवर्द्धन

सफल आरोहणपछि तीन कोरियाली नागरिक र पाँच नेपाली गाइडलाई ACAP लोमान्थाङले खादा लगाएर सम्मान गरेको छ।
ACAP प्रमुख पौडेलका अनुसार, “छुआमा हिमालको पहिलो सफल आरोहणले माथिल्लो मुस्ताङको पर्यटन प्रवर्द्धन र हिमाल आरोहण प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।”

Leave a comment