
नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टीबाट अलग हुँदै नयाँ राजनीतिक अभियान ‘प्रगतिशील अभियान नेपाल’ को घोषणा गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले नयाँ वैचारिक दृष्टिकोण र राजनीतिक यात्रासहित यो अभियान सार्वजनिक गरेका हुन्।
शर्माले भने, “यो कुनै नयाँ पार्टी होइन, तर विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक प्रयास हो।”
उनले जारी गरेको विज्ञप्तिमा माओवादी नेतृत्वले नीतिहीनतालाई नै नीति बनाएको आरोप लगाएका छन्। शर्माका अनुसार, क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्रमशः क्षय हुँदै गएकाले नयाँ पुस्तालाई वैचारिक शस्त्र र शास्त्रसहित सुसज्जित गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्ने आवश्यकता भएको छ।