
बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नति भएसँगै नेपालको प्रमुख धार्मिक र पर्यटकीय गन्तव्य मुस्ताङमा पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। म्याग्दी र मुस्ताङ खण्डमा कोरला सडकको दुई तिहाइ भाग स्तरोन्नति भएपछि आवागमन सहज बन्दा पर्यटकहरू आकर्षित भएका हुन्।
मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड जस्ता धार्मिक स्थलहरू, लोमान्थाङ दरबार, ढुम्बाताल, मार्फा, जोमसोमजस्ता पर्यटकीय क्षेत्रले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउँदै आएका छन्। प्राकृतिक सौन्दर्य, जैविक विविधता र प्राचीन संस्कृति बोकेको मुस्ताङ हरेक उमेरका मानिसको मन जित्ने गन्तव्य बन्न पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ महिनासम्मको ११ महिनामा कुल ६ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। जसमा ५ लाख ३९ हजार ८७२ जना स्वदेशी तथा १ लाख ३८ हजार ६६४ जना ७२ देशका विदेशी पर्यटक समावेश छन्।
गत वर्ष यही अवधिमा कुल ४ लाख ५४ हजार ३२६ जना पर्यटक मुस्ताङ पुगेका थिए, जसमा ३ लाख ५४ हजार ९२७ जना नेपाली र ९९ हजार ३९९ जना विदेशी थिए। यो तथ्यांकले मात्र पनि मुस्ताङमा पर्यटन वृद्धि दोब्बर भएको देखिन्छ।
स्वदेशी पर्यटकमध्ये कात्तिक महिनामा सबैभन्दा बढी ९९ हजार १७६ जनाले भ्रमण गरेका थिए भने चैत महिनामा ८९ हजार ३४४ जनाले मुस्ताङ यात्रा गरेका थिए। विदेशी पर्यटकतर्फ जेठ महिनामा २८ हजार ३७२ जना र वैशाखमा २६ हजार २९ जनाको उल्लेखनीय उपस्थिति देखिएको छ।
यसले मुस्ताङलाई पर्यटनको उज्ज्वल भविष्य भएको पुष्टि गरेको छ। आगामी दिनमा अझ पूर्वाधार विकास र प्रचारप्रसार गरिएमा मुस्ताङले अन्तर्राष्ट्रिय गन्तव्यको रुपमा दरिलो पहिचान बनाउने देखिन्छ।