
काठमाडौंको तारकेश्वर नगरपालिकामा मोटरसाइकलको ठक्करले एक पैदल यात्रीको ज्यान गएको छ।
बुधबार राति साढे ९ बजे तारकेश्वर नगरपालिका–८ स्थित शिव मन्दिर नजिकै मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो।
तारकेश्वर नगरपालिका–३, पाँचमानेका २२ वर्षीय नविन घिमिरेले चलाएको बा ७४ प ७०५४ नम्बरको डुक मोटरसाइकलले ७० वर्षीय कुलबहादुर आचार्यलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका आचार्यलाई सिटी अस्पताल पुर्याइएको थियो। अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि टोखास्थित ग्राण्डी अस्पताल सारिएको थियो। तर, राति ११:२० बजे उपचारका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
मोटरसाइकल चालक घिमिरे र मोटरसाइकल नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिएका छन्।