
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलो ३० ग्राम लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति भारतको मोहम्मद इसा काक्किरिचल पुथियापुराइ हुन्। उनी थाई लायोन एयरको उडानमार्फत बैंककबाट काठमाडौं आइपुगेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो। टोलीले उनको लगेज जाँच गर्दा गाँजाजस्तो देखिने करिब ५ किलो ३० ग्राम लागूऔषध फेला पारेको जनाएको छ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जानकारी दिएको छ।