
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देनले सामुदायिक विद्यालयको नतिजा कमजोर हुनुको गहिरो अध्ययन गर्न जरुरी रहेको बताएका छन्।
झापाको हल्दिबारी गाउँपालिकामा पूर्ण साक्षर पालिका घोषणा कार्यक्रममा अध्यक्ष लिङ्देनले शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरे पनि सामुदायिक विद्यालयको नतिजा कमजोर हुनु चिन्ताको विषय भएको बताए।
उनले भने, “अहिले धेरै लगानी भएको छ, तर पनि नतिजा किन कमजोर? निजी विद्यालयभन्दा किन पछि छ? यसका कारण खोज्नु आवश्यक छ।”
अध्यक्ष लिङ्देनले भौतिक पूर्वाधार, शिक्षक तथा कर्मचारीको तलब, तालिम सबैमा सामुदायिक विद्यालय पछाडि नभएको जिकिर गर्दै शिक्षक अभाव भएका क्षेत्रमा पालिकाले निजी स्रोतबाट शिक्षक राखेको समेत उल्लेख गरे।
उनले थपे, “भवन नभएर हो, तलब नपाएर हो, वा तालिमको अभावले हो? अब कमजोरी के हो भन्ने पत्ता लगाउनै पर्छ। किनभने आज उत्पादन हुने विद्यार्थी नै भविष्यको आधार हुन्। देश कस्तो बन्छ भन्ने कुरा विद्यार्थीबाटै निर्भर हुन्छ। त्यसैले शिक्षकले पनि आफ्नो जिम्मेवारी बोध गर्न जरुरी छ।”
कार्यक्रममा हल्दिबारीबाट एसईई परीक्षा २०८१ मा सफल भएका ३०८ विद्यार्थीमध्ये उत्कृष्ट ३२ जनालाई नगदसहित सम्मान गरिएको थियो। प्रमुख अतिथि लिङ्देन, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायतले विद्यार्थीलाई सम्मान गरेका थिए।