
नेपालले दक्षिण एसियामै पहिलोपटक तेस्रो मुलुकलाई विद्युत् निर्यात गर्ने इतिहास रच्दै शनिबारदेखि बंगलादेशलाई ४० मेगावाट बिजुली व्यावसायिक रूपमा बेच्न सुरु गरेको छ।
देशभित्रको विद्युत् आवश्यकता पूरा गरेपछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशतर्फ बिजुली पठाउन थालेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले यो कार्यलाई नेपालको समृद्धि यात्रातर्फको ठुलो कदम भएको भन्दै ऐतिहासिक क्षणको संज्ञा दिएका छन्।
उक्त निर्यातका लागि नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ गते त्रिपक्षीय सम्झौता भएको थियो। यो सम्झौता मन्त्री खड्काको पहलमा भारतका विद्युत् मन्त्री मनोहरलाल र बंगलादेश सरकारका सल्लाहकार फोजुल कविर खानको उपस्थितिमा सम्पन्न भएको हो। काठमाडौंमा तीन देशका प्रतिनिधिहरूले संयुक्त रूपमा स्विच अन गरेर बंगलादेशतर्फ विद्युत् प्रवाहको उद्घाटन गरेका थिए।
सम्झौता अनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको वर्षायाममा नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्नेछ। यो सम्झौता २०२९ अक्टोबर २ सम्म लागू हुनेछ, जसअनुसार पाँच वर्षसम्म निर्यात हुनेछ।
नेपालले उत्पादन गरेको विद्युत् भारतको प्रसारण संरचना प्रयोग गरेर बंगलादेश पुर्याइँदैछ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली भारतको बेहरामपुर सबस्टेसन पुग्नेछ र त्यहाँबाट बंगलादेशको भेडामारा ४०० केभी लाइन हुँदै बंगलादेशको राष्ट्रिय ग्रिडमा मिसिनेछ।
विद्युत् प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् आयोजनाबाट १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट २१.४० मेगावाट उत्पादन गरी बंगलादेश निर्यात गरिनेछ।
यसअघि गरिएको परीक्षण व्यापारमा ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो जसबाट ३० हजार ८० अमेरिकी डलर आम्दानी भएको थियो।
नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट दरमा बिजुली बिक्री गर्दैछ। व्यापारका लागि लाग्ने सबै शुल्कजस्तै प्रसारण शुल्क, चुहावट, भारतले लिने ट्रेडिङ मार्जिन, एनभीभीएन शुल्क आदिको सम्पूर्ण खर्च बंगलादेशले बेहोर्नेछ। यसका साथै बक्यौता रकम पनि बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (BPDB) ले नै तिर्नेछ।
नेपालले विद्युत् निर्यातको क्षेत्रमा देखाएको यो सफलता भविष्यमा थप देशहरूसँग ऊर्जा व्यापारको सम्भावनाका लागि मार्गप्रशस्त हुने विश्वास लिइएको छ।