
विद्युतीय अपराध तथा आपराधिक लाभ लिन खोजेको अभियोगमा संखुवासभा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। पक्राउ परेकामा भोजपुर षडानन्द नगरपालिका–१ निवासी २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय बिपल राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार, ती दुई युवाले पीडितको व्यक्तिगत तथा गोप्य तस्बिर तथा भिडियो बनाएर पीडितका आफन्त र साथीहरूलाई पठाई चरित्र हत्या गरेको आरोप छ। साथै, तस्बिर/भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै डर, त्रास सिर्जना गरी रकम मागेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त उजुरीपछि खटिएको प्रहरी टोलीले संखुवासभाको खाँदबारी नगरपालिका–१ बाट उनीहरूलाई पक्राउ गरेको हो।
हाल जिल्ला अदालत संखुवासभा, चैनपुरबाट म्याद थप अनुमति लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले विद्युतीय माध्यमको दुरुपयोग गरी आपराधिक लाभ लिने प्रवृत्तिलाई रोक्न आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ।