Join our Channel

वीरगन्जका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

वीरगन्जका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्व नजिकिँदै गर्दा यात्रुको भीडलाई सहज र सुरक्षित बनाउन वीरगन्जका विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साले सोमबारदेखि वीरगन्जका पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो। यी पाँच स्थानमा घण्टाघर चोक, भन्सार क्षेत्र (शंकराचार्य गेट), नयाँ बसपार्क चोक र परवानीपुर चोक पर्छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार यात्रुको चाप बढ्ने दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राख्दै सहायता कक्ष स्थापना गरिएको हो।

ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टले यात्रु सहायता कक्षहरूले यात्रुलाई सूचना, दिशा–निर्देशन, टिकट व्यवस्थापन, गन्तव्य जानकारी र आपतकालीन सहयोग उपलब्ध गराउने बताए। उनका अनुसार प्रहरी र स्वयंसेवक खटाइएका छन्, जसले यात्रुको सहज र सुरक्षित यात्रामा सहयोग गर्नेछन्।

उनले भने, “चाडपर्वको समयमा यात्रुहरूको भीड अत्यधिक हुने भएकाले यो विशेष पहल गरिएको हो। यो सेवा निरन्तर सञ्चालन हुनेछ र यात्रुलाई सजिलो, सुरक्षित र सहज यात्रा सुनिश्चित गर्नेछ।”

Leave a comment