Join our Channel

देउवा निवासमा भेटिएको नोटबारे निष्पक्ष छानबिन होस् – महामन्त्री विश्वप्रकाश शर्मा

देउवा निवासमा भेटिएको नोटबारे निष्पक्ष छानबिन होस् – महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोट प्रकरणमा निष्पक्ष छानबिन आवश्यक भएको बताएका छन्।

सोमबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले अनुमान र हल्लाले होइन, अनुसन्धानमार्फत मात्रै सत्य बाहिर आउनुपर्नेमा जोड दिए। उनका अनुसार हाल सम्पत्ति शुद्धीकरण विभागलगायत सम्बन्धित निकायहरूले छानबिन गरिरहेका छन् र त्यसको नतिजालाई नै आधार मान्नुपर्ने हुन्छ।

शर्माले कांग्रेसका जिल्ला सभापतिहरूको बैठकमा पनि यो विषय उठाइएको स्मरण गर्दै यसलाई स्पष्ट पार्ने जिम्मेवारी सभापति निवास पक्षकै हुने बताए। उनले भने, “अनुमानले होइन, अनुसन्धानले मात्र सत्य देखाउँछ।”

यसअघि देउवा निवासमा जलेका नोट भेटिएको भन्दै सार्वजनिक भएका तस्बिर र भिडियोबारे समेत प्रश्न उठेका छन्। देउवाको सचिवालयले ती तस्बिर र भिडियो वास्तविक नभएको दाबी गरेको थियो।

पार्टी सभापतिको स्वास्थ्यप्रति शुभकामना व्यक्त गर्दै शर्मा भने, “सभापतिजीको स्वास्थ्य लाभ हुँदै गरेको बेला शुभकामना दिन जरुरी छ। त्यत्तिकै पार्टीलाई पनि स्वस्थ बनाउन ध्यान दिनुपर्छ।”

उनले जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको आगजनीबाट पार्टी र देशले ठूलो क्षति भोगेको उल्लेख गर्दै अब संकटलाई अवसरमा बदल्दै कांग्रेसलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।

पार्टी नेतृत्व परिवर्तन र महाधिवेशनबारे प्रश्नमा उनले मंसिरभित्र महाधिवेशनको तयारी आवश्यक रहेको बताए। तर तत्काल महाधिवेशन नगर्नुपर्ने मत पनि पार्टीभित्र रहेको भन्दै साझा धारणा केन्द्रीय समितिबाट बन्ने स्पष्ट पारे।

शर्माले प्रतिबद्धता जनाउँदै भने, “हामी नयाँ ढंगले आउनेछौं, परिस्थितिलाई सम्हाल्दै मुलुकलाई सम्भावनातिर लैजाने छौं।”

Leave a comment