Join our Channel

डोल्पामा नचलेको विद्यालय देखाएर ७ लाख ६० हजार भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा

डोल्पाको दुनैस्थित दुर्गा प्राथमिक विद्यालयको नाममा ७ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, दुर्गा प्राथमिक विद्यालय कहिल्यै सञ्चालनमा नरहेको स्पष्ट प्रमाण भएको अवस्थामा पनि सोही विद्यालयको नाममा भवन निर्माण योजना पारेर रकम निकासा गरिएको थियो।

आर्थिक वर्ष २०६७/६८ मा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट आएको भनिएको रकम विद्यालय भवन निर्माणका लागि खर्च गरिएको देखाइ नक्कली कागजपत्र तयार पारिएको अख्तियारले जनाएको छ।

आयोगले मुद्दामा जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढालाई प्रतिवादी बनाएको छ।

चारैजनामाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र बिगो असुलको माग गर्दै मुद्दा दायर गरिएको आयोगको भनाइ छ। उनीहरूबाट ७ लाख ६० हजार रुपैयाँ बराबरको बिगो असुल गर्नुपर्ने मागसहित मुद्दा अगाडि बढाइएको हो।

Leave a comment