
युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृंखला नेपालले एक खेल अगावै आफ्नो नाममा पारेको छ।
मंगलबार शारजाहमा सम्पन्न दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। यसअघि पहिलो खेलमा पनि नेपालले १९ रनले विजयी भएको थियो।
वेस्ट इन्डिज अलआउट ८३ रनमा
१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो।
- ज्यासन होल्डरले २१ रन
- अकिम अगस्टीले १७ रन
- अमिर जांगुले १६ रन बनाए।
तर, अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन नसक्दा वेस्ट इन्डिज ठूलो अन्तरले पराजित भयो।
नेपालका बलरमध्ये आदिल आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने कुशल भुर्तेलले ३ विकेट हात पारे। दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजबंशीले समान १-१ विकेट लिए।
आसिफ–सन्दीपको अर्धसतक
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रनको योगफल तयार पारेको थियो।
- आसिफ शेखले ६८ रन (४७ बलमा ८ चौका, २ छक्का)
- सन्दीप जोराले ६३ रन (३९ बलमा ३ चौका, ५ छक्का) जोडे।
नेपालका अन्य खेलाडीहरूमा कुशल भुर्तेल २ रन, कप्तान रोहित पौडेल ३ रन, कुशल मल्ल ७ रन र गुल्शन झा ६ रनमा आउट भए।
वेस्ट इन्डिजतर्फ अकिल हुसेन र किले मेयर्सले २-२ विकेट लिए भने जेडिह ब्लाड्सले १ विकेट हात पारे।
यस जितसँगै नेपालले शृंखला जितेको छ भने अब बाँकी खेल औपचारिकतामात्र हुनेछ।