
फूलपातीको अवसरमा पाटन दरबार क्षेत्रमा परम्परागत अष्टमात्रिका नाच (गः प्याखान) प्रदर्शन गरिएको छ। दिउँसो ३ बजे सुरु भएको यस नृत्यमा स्थानीय बासिन्दा, भक्तजन तथा विदेशी पर्यटकहरूको ठूलो भीड उपस्थिति थियो।
३५० वर्षभन्दा पुरानो परम्परागत नृत्य अष्टमात्रिका नाच पाटनवासीहरूबीच गः प्याखान नामले परिचित छ। यो नाच हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिन नकबहिल परिसरमा पूजा सम्पन्न गरेपछि सुरु गरिन्छ।
बाजागाजासहित नागबहाल–पट्को हुँदै मंगलबजार पुगेका देवगणहरूलाई तलेजु पुजारी (राजोपाध्याय ब्राह्मण) ले पूजा गरी मूलचोकमा प्रवेश गराइन्छ। त्यसपछि देवगणहरूले विशेष नृत्य प्रदर्शन गर्छन्।
यो नाच फूलपाती र विजया दशमीका दिन दिउँसो मूलचोकमा देखाइन्छ। ऐतिहासिक रूपमा यो परम्परा मल्ल राजा श्रीनिवास मल्लको पालामा सुरु भएको मानिन्छ।