
हेटौंडामा लागूऔषधसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गस्तीको क्रममा हेटौंडा औद्योगिक क्षेत्र नजिक पानीट्यांकीको सडक खण्डमा दुई वटा सवारी साधन जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा–९ मा डेरा लिएर बस्दै आएका २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा–१३ निवासी ४० वर्षीय सोम स्याङ्तानलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा ना.३८ प ३१८५ नम्बरको मोटरसाइकल र ना.२१ प १७१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई रोकेर जाँच गर्दा १,७७० क्याप्सुल ट्रामाडोल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूलाई लागूऔषध कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।