
बर्दिबासमा एक छात्रालाई जबर्जस्ती दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवलाई अभद्र मुद्दामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, छात्राको अभिभावक र विद्यालय प्रशासनको जाहेरीका आधारमा यादवलाई मंगलबार नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान भइरहेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आरोप लगाएका छन् कि शिक्षक यादवले परीक्षा पास गराइदिने प्रलोभन देखाउँदै छात्राहरूसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्ने गरेका थिए।
घटना गम्भीर भए पनि विद्यालय र अभिभावकले लामो समयसम्म घटना सार्वजनिक नगरेको र अन्ततः अभद्र मुद्दा दर्ता गराएर मात्रै उजागर गरिएको हो। बर्दिबास नगरपालिका–११ खैरमारास्थित विद्यालयले नै प्रमाणसहित (फोनमा रातिको समयमा धम्कीपूर्ण अडियो) प्रहरीलाई बुझाएपछि शिक्षकलाई पक्राउ गरिएको हो।
यसअघि पनि सोही विद्यालयमा २०८१ पुस १५ गते तीन जना छात्राहरूले सामूहिक रुपमा विषसेवन गरी आत्महत्याको प्रयास गरेका थिए। तीमध्ये सिराहा धनगढी नगरपालिका-१० की १७ वर्षीया रिङ्कु शर्माको मृत्यु भएको थियो। तर उक्त घटनामा समेत उचित अनुसन्धान नभएको अभिभावकहरूले आरोप लगाउँदै आएका छन्।