
भदौ २३ र २४ का दिन जेन-जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका कारण केही निजी आवासमा रहेको नोट जलेको वा च्यातिएको फोटो र भिडियो सार्वजनिक भएका छन्। यद्यपि, कुन घरमा कति नोट थिए भन्ने यकिन तथ्य सार्वजनिक भएको छैन।
आंशिक रूपमा जलेका वा च्यातिएका नोट बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमा साट्न पाइन्छ कि पाइँदैन भन्नेबारे सर्वसाधारणमा चासो छ।
नेपाल राष्ट्र बैंकका अनुसार, नोट आंशिक रूपमा जले वा च्यातिएमा आधिकारिक प्रमाणका आधारमा बैंक र वित्तीय संस्थाले साटिदिन्छन्। तर आन्दोलनजस्ता घटनामा यस प्रक्रिया सजिलो हुँदैन। यसका लागि निश्चित कानुनी प्रक्रिया पालना गर्नुपर्छ।
यदि धेरै नोट जले वा च्यातिएका छन् भने सम्बन्धित व्यक्ति प्रहरी वा सरकारी निकायबाट प्रमाणपत्र लिनुपर्छ। सामान्य अवस्थामा केही थान नोट साट्दा सरकारी सिफारिस आवश्यक पर्दैन। तर जले वा च्यातिएका नोट साट्न जाँदा बैंकले नोट कसरी नष्ट भयो भन्ने प्रमाण माग्ने गर्छ।
नेपाल राष्ट्र बैंकको ‘नोट सट्टा भर्ना नियमावली २०५९’ अनुसार, च्यातिएका, पोलेका वा बिग्रिएका नोटको साट्न आवेदन दिनुपर्छ। नोटको कम्तीमा ५०% भाग र पूरा नम्बर पहिचान गर्न सकिने अवस्था हुनुपर्छ। बेजोडा, सच्याइएको वा मनोमानी लेखिएको नोट साट्न पाइँदैन।
आगलागी वा दैवी प्रकोपमा नष्ट भएका नोट साट्न प्रहरी वा नगरपालिका/गाउँपालिकाबाट प्रमाणित गर्नुपर्छ। बिग्रेका सिक्का पनि राष्ट्र बैंकको मूल्य निर्धारणपछि साट्न सकिन्छ।
यसरी, जलेका वा च्यातिएका नोट साट्न सकिन्छ तर निश्चित प्रक्रिया, प्रमाण र नियम पालना गर्नुपर्ने हुन्छ।