
लगातार परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले शनिबार जानकारी दिएका हुन्। उनका अनुसार महाकाली नदीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाका दृष्टिले आवतजावतमा अस्थायी रुपमा रोक लगाइएको हो।
“महाकालीमा बहाव बढेपछि सुरक्षाका लागि रोक लगाइएको छ,” डिएसपी बोहराले भने, “शनिबार बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीलाई आवागमन निषेध गरिएको हो।”
जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा यही असार १६ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई सतर्क रहन र अनावश्यक यात्रा नगर्न समेत विभागले अनुरोध गरेको छ।