
पर्यटकका लागि सुलभ र वातावरणमैत्री सेवा दिन भन्दै लुम्बिनीमा भित्रिएका विद्युतीय सवारी साधनहरूले करिब पाँच वर्षपछि बल्ल हरियो नम्बर प्लेट पाएका छन्।
वि.सं. २०७७ साल मंसिर र पुस महिनामा एशियाली विकास बैंकको सहयोगमा ल्याइएका ५ वटा बस र १४ वटा भ्यान (कुल १९ सवारी) मध्ये धेरैले हालै मात्र हरियो नम्बर प्लेट पाएका हुन्। सुरुमा यी सवारी साधनले सेतो सरकारी प्लेट नम्बर पाए पनि, नीतिगत अस्पष्टता र कानुनी आधारको अभावका कारण हरियो नम्बर प्लेट दिन ढिलाइ भएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालयका कानून संकायका विद्यार्थीहरू रोशन घिमिरे, सिमाना थापा क्षेत्री, नवीन खनाल, प्रविन तिवारी र कुलदीप तिवारीले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेपछि बल्ल प्रक्रिया अगाडि बढेको हो। उनीहरूले लुम्बिनी विकास कोष मातहतका सवारीलाई पर्यटक प्रयोजनका लागि हरियो नम्बर प्लेट दिन माग गर्दै परमादेशको माग गरेका थिए।
न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले गत चैत ११ गते लुम्बिनीका विद्युतीय सवारीहरूलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी संचालन गर्न एक महिनाको समयसीमा तोकेर परमादेश जारी गरेको थियो।
यसै आधारमा बुटवलको यातायात व्यवस्था कार्यालयले अब केही सवारीहरूलाई हरियो नम्बर प्लेट उपलब्ध गराएको छ। यद्यपि १९ मध्ये अझै १ वटा बस र २ वटा भ्यानले हरियो नम्बर प्लेट पाउन बाँकी छन्। तीमध्ये २ भ्यान दुर्घटनामा परेका कारण मर्मत भइरहेको छ भने एक बसको अगाडिको सिसा फुटेको जनाइएको छ।
लुम्बिनीमा विद्युतीय सवारीमार्फत पर्यटकलाई सहज सेवा पुर्याउने उद्देश्यले क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत यी सवारी ल्याइएका थिए। हरियो नम्बर प्लेट पाएको अब सवारीहरूबाट लुम्बिनीलाई वातावरणमैत्री र प्रदूषणरहित बनाउने अभियानमा थप टेवा पुग्ने विश्वास गरिएको छ।