
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।
भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योग, हेटौंडा–१५ का लागि कोइला ल्याउँदै गरेको यूपी ६१ एटी ०९६२ नम्बरको भारतीय ट्रक ब्रेक फेल भई रातोमाटेको चार्जिङ स्टेसन नजिकै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ट्रक पल्टिएपछि ट्रकमै च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतक चालकको नाम भने हालसम्म खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएका सहचालक भारत गाजिपुर निवासी २६ वर्षीय मनोज यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटना मंगलबार बिहान २:३० बजे भएको हो। ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।