Join our Channel

नेपालले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

नेपालले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् निर्यातको स्वीकृतिलाई नवीकरण गरेको हो।

प्राधिकरणका अनुसार, देशभित्र खपत पछि बाँकी विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालिन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ। यसैगरी, भारतीय प्रसारण संरचनाको माध्यमबाट बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ।

आईएक्स मार्केटमा बिक्री अनुमति पाएका चार आयोजनाको नवीकरण भएको छ। यी आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत्को स्वीकृति विभिन्न मितिमा सकिएको थियो। नवीकरण स्वीकृति गत मङ्गलबारदेखि लागू हुँदै करिब एक वर्षका लागि कायम हुनेछ।

द्विपक्षीय सम्झौताअनुसार हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युत् बिक्री भइरहेको थियो। अनुमति बिहीबार (आज) सकिँदै थियो। अब चार आयोजनाबाट उत्पादित विद्युत् आईएक्समार्फत पनि निरन्तर बिक्री गर्न सकिने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले भारत भ्रमणका क्रममा विद्युत् मन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा स्वीकृति प्रक्रियालाई सरल बनाउन अनुरोध गरेका थिए। उनले नेपालमा विद्युत् उत्पादनको सर्वोत्तम समय अहिले भएकाले नवीकरण प्रक्रियालाई तत्काल स्वीकृति दिन आग्रह गरेका थिए।

Leave a comment