
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनर सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार एनपीएलमा:
- सर्वाधिक रन बनाउने खेलाडी,
- सर्वाधिक विकेट लिने खेलाडी, र
- इमर्जिङ प्लेअर
यी तीनै खेलाडीलाई एक–एक बजाज पल्सर मोटरसाइकल प्रदान गरिने क्यान सचिव खड्काले जानकारी दिए।
खड्काका अनुसार, एनपीएलको दोस्रो संस्करण पूर्वाधार र व्यवस्थापनको हिसाबले अत्यन्तै उत्कृष्ट हुने छ। प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गरिने हुँदा क्रिकेट प्रशंसकहरू निराश नहुने पनि उनले बताए।
एनपीएल २ आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने छ। प्रतियोगिता सुरु हुनु केही दिनअघि पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी पनि उपलब्ध गराइने क्यानले जनाएको छ।