
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आर्थिक वर्ष २०८१/८२ मा निर्यात क्षेत्रमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले चालु आवमा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी दिएका हुन्।
उनका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अर्थात अघिल्लो आर्थिक वर्षमा कुल निर्यात रकम रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र थियो।
प्रधानमन्त्री ओलीले लेखेका छन्,
“यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। रु २ खर्ब ७७ अर्ब ३ करोड २ लाखको निर्यात गर्न हामी सफल भएका छौं। गत वर्षको तुलनामा ८१.८०% निर्यात वृद्धि भएको छ।”
नेपालको निर्यातमा यस्तो उच्च वृद्धिदर देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको रूपमा लिइएको छ। निर्यात वृद्धिले उत्पादन, रोजगारी, विदेशी मुद्रा सञ्चिति लगायतका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अर्थविद्हरू बताउँछन्।